केन्द्रको सत्ता सहकार्यको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गर्ने लगभग निश्चितभए पनि पार्टीभित्र मन्त्री छनोट र नेतृत्वको विषयलाई लिएर आन्तरिक शक्ति संघर्ष चुलिएको छ।
नयाँ समीकरणअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्ट भावी मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा अगाडि आएका छन्। तर, सरकारको बागडोर सम्हाल्ने तयारी भइरहँदा पार्टीभित्र मन्त्री पदको भागबण्डा र नेतृत्व चयनलाई लिएर विभिन्न समूहबीच आन्तरिकछलफल र समीकरणको तिकडम तीव्र बनेको छ। भट्टको नाममा सहमति जुटाउने प्रयास भइरहे पनि पार्टीभित्रै वैकल्पिक नेतृत्वको खोजीभइरहेको स्रोतको दाबी छ।

यसअघि तत्कालीन माओवादी केन्द्रको संसदीय दलको नेताबाट भट्टलाई हटाइएको तितो अनुभव पार्टीभित्र अझै ताजा छ। केन्द्रबाटपटक–पटक निर्देशन आउँदा पनि प्रदेशका बहुमत सांसदहरू भट्टलाई पुनः दलको नेता बनाउन तयार भएका थिएनन्। अन्ततः केन्द्रीयनेतृत्वको छैटौँ पटकको कडा निर्देशनपछि मात्र उनी पुनः संसदीय दलको नेताको कुर्सी सम्हाल्न सफल भएका थिए।
पार्टीभित्रको पुरानो असन्तुष्टि र पदको भागबण्डाको दाउपेच अझै पूर्ण रूपमा हल भइनसकेको नेताहरू बताउँछन्। यद्यपि, पूर्व संसदीयदलका नेता मानबहादुर धामीले भने पार्टी विधानअनुसार दलको नेता नै अनिवार्य रूपमा मुख्यमन्त्री बन्ने भन्ने कुनै व्यवस्था नरहेको तर्कअगाडि सार्दै आएका छन्। उनका अनुसार मुख्यमन्त्रीको औपचारिक उम्मेदवार र समग्र मन्त्रिपरिषद्को टुंगो लगाउने विषयमा संसदीयदलको बैठकले विधिवत् निर्णय गर्न बाँकी नै छ।
केन्द्रको निर्णय र वर्तमान समीकरणका आधारमा सरकार गठनको मार्गप्रशस्त भए पनि आन्तरिक व्यवस्थापन र मन्त्री पदको आकांक्षालेनेकपाभित्रको यो शक्ति संघर्षले आगामी दिनमा कस्तो रूप लेला, चासोका साथ हेरिएको छ।






