धनगढी/कैलालीको बेहडाबाबा मन्दिर क्षेत्र को समग्र विकासका लागि प्रतिनिधि सभा सदस्य डा. आनन्द चन्द लाई ध्यानाकर्षण गराइएको छ।
बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष खेम बहादुर चन्द ले ज्ञापनपत्रमार्फत उक्त क्षेत्रको पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा बजेट विनियोजनमा पहल गर्न आग्रह गरेका हुन्।
ज्ञापनपत्रमा धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा क्षेत्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको औंल्याइएको छ। साथै, संघीय र प्रदेश सरकारमार्फत आवश्यक बजेट विनियोजन गरी क्षेत्रको समग्र विकास गर्नुपर्ने माग गरिएको छ।
समितिले विभिन्न योजनाहरू अघि सारेको छ, जसमा रिङरोड निर्माण, धर्मशाला तथा बजार क्षेत्रको पूर्वाधार विकास, मन्दिर पुनर्निर्माण, महादेव ताल व्यवस्थापन, पिकनिक स्थल सुधार तथा खानेपानी व्यवस्थापनलगायतका कामहरू समावेश छन्।
त्यसैगरी, मन्दिर क्षेत्रमा आउने भक्तजनका लागि बस सुविधा सम्पन्न धर्मशाला निर्माण गर्न बजेट व्यवस्था गरिदिन समेत आग्रह गरिएको छ।
समितिले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक पहल गर्न सांसद चन्दसमक्ष अनुरोध गरेको छ।







