मंगलबार दिउँसो सुदूरपश्चिमका पहाडी जिल्लाको प्रवेशद्वार कैलालीको अत्तरियामा यात्रुहरूको भिड थियो । कोही सवारी नपाएर हैरानथिए, कसैलाई निर्धारित भाडाभन्दा बढीमा गन्तव्य पुग्नुपर्ने बाध्यता थियो ।
त्यसमाथि क्षमताभन्दा बढी यात्रुले भरिभराउ देखिन्थे सार्वजनिक सवारी साधन । सोही क्रममा अत्तरियादेखि डडेल्धुराका लागि एउटाबिजुली बस छुट्यो । ११ सिट पास रहेको उक्त बिजुली बसमा १६ जना यात्रु थिए । अत्तरिया बसपार्कको छेउमै खटिएका थिए, चारजना ट्राफिक प्रहरी । तीमध्येका एक जनाले बसमा सवार यात्रुलाई चाडपर्वको शुभकामना दिँदै कुनै गुनासो भए भन्न आग्रह गरे ।यात्रुका तर्फबाट कुनै गुनासो व्यक्त भएन । सोही समयमा बसका चालक अन्य तीन जना ट्राफिक प्रहरीलाई भेट्न बाहिर गएका थिए ।ती चालकले त्यहाँ सय रुपैयाँ ट्राफिक प्रहरीलाई बुझाए ।

त्यसको झण्डै १० किलोमिटरपछि कैलालीको गोदावरीमा ट्राफिक प्रहरीको अर्को चेक पोस्ट छ । ‘अत्तरियामा खटिएका ट्राफिकप्रहरीलाई दैनिक सय/दुई सय रुपैयाँ बुझाउनुपर्छ,’ डडेल्धुरा–अत्तरिया रुटका एक जना हायस चालकले भने, ‘तर, गोदावरीमा भनेमहिनामारी रकम बुझाउनुपर्ने हुन्छ ।
अहिले एक सवारी साधनबाट मासिक पाँच सय रुपैयाँ रेट तोकिएको छ ।’ गोदावरीमा महिनामारी रकम बुझाउने सवारी चालकलेकैलालीकै खानीडाँडा र फल्टुडेमा पनि मासिक पाँच सय बुझाउने गरेको बताए । यस्तै, डोटीको बुडरमा पनि ट्राफिक प्रहरीको चेकपोस्ट छ ।
त्यहाँ पनि ट्राफिक नियम उल्लंघन गरेवापत रकम बुझाउने गरेका छन्, सवारी चालकहरूले ।
‘चाडपर्वको समयमा सार्वजनिक सवारी साधनहरूले क्षमताभन्दा बढी यात्रु बोकिरहेका छन्,’ धनगढी–डडेल्धुरा यात्रामा भेटिएकाडडेल्धुराका रमेश साउँदले भने, ‘निर्धारित भाडाभन्दा बढी तिर्नुपर्ने बाध्यता छ । तर, ट्राफिक प्रहरीले भने कारबाही गर्नुको सट्टा कमाउधन्दा नै चलाएको छ ।’ अर्का यात्रु निरज पाण्डेले ट्राफिक प्रहरीले नियम उल्लंघन गर्न दिएर सवारी चालकबाट रकम असुली भइरहेकोबताए ।
‘ट्राफिक प्रहरीले सवारी चालकले ट्राफिक नियम पालन गरे/नगरेको निगरानी गर्ने र नगरेको भए कारबाही गर्ने हो जस्तो लागेको थियो,’ उनले भने, ‘यहाँ त सबै पैसामा बिकेको देखियो । क्षमताभन्दा बढी यात्रु बोक्ने, निर्धारित भाडाभन्दा बढी असुल्ने कार्य पनि ट्राफिकप्रहरीले रकम असुलेपछि वैधानिक हुँदो रहेछ ।
अत्तरियादेखि डडेल्धुराको स्याउलेसम्म टाइम कार्ड पनि लागू गरिएको छ । ‘अत्तरियादेखि बुडर दुई घण्टा १५ मिनेट र बुडरदेखि स्याउलेपुग्दा सार्वजनिक सवारीले दुई घण्टा १५ मिनेट गरी साढे चार घण्टा लगाउनै पर्ने टाइम कार्डको नियम छ,’ उनले भने, ‘तीव्र गतिले यात्राअसुरक्षित भएको र सवारी दुर्घटना बढेको गुनासो आएपछि टाइम कार्ड लागू गरिएको हो ।’
तर, यात्रुहरूका अनुसार कतिपय सार्वजनिक सवारी साधन तीव्र गतिमा यात्रा गर्दै अत्तरियादेखि डडेल्धुरा चार घण्टामै पुग्ने गरेका छन् ।‘ट्राफिक प्रहरीले नियम उल्लंघन गर्दै धनगढी–डडेलधुरा भीमदत्त राजमार्गमा तोकिएको समय अगावै सवारी साधन चल्न दिएबापत रकमअसुल्ने गरेको देखिएको छ,’ डोटी बुडरमा भेटिएका राम चन्द्र दुवाडीले भने, ‘टाइम कार्ड पनि सय/दुई सयमै बिकेको देखिन्छ ।’
पछिल्लो समय टाइम कार्डको चेकजाँच लगभग नहुने भएकाले कतिपय सवारी चालकले त टाइम कार्ड नै बनाउन छोडेका छन् ।डडेल्धुराको स्याउलेमा टाइड कार्डअनुसार सवारी साधन चले/नचलेको जाँच हुनुपर्नेमा त्यहाँ जाँच हुनै छोडेको छ ।
यता सुदूरपश्चिम प्रदेशभर ट्राफिक व्यवस्थापन हेर्दै आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका डिएसपीटेक जोराले रकम असुलीबारे अहिलेसम्म गुनासो नआएको बताए ।
‘हामीले ट्राफिक नियम कडाइका साथ पालना गराउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छौँ,’ उनले भने, ‘चाडपर्वमा नियम उल्लंघनगरेमा कानूनी कारबाही गर्न भनेका छौं । रकम असुलीबारे भने अहिलेसम्म गुनासो आएको छैन ।’
खड्का अनुसार प्रदेश ट्राफिकले पनि चाडपर्व लक्षित सुरक्षा योजना बनाएर १५ गतेदेखि नै लागू गरिसकेको छ । ‘सवारी आवागमनलाईसहज बनाउन सुरक्षा योजना बनाएर लागू गरेका हौं,’ उनले भने, ‘३६ वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौं । चेकजाँचमाकडाई भइरहेको छ । प्रयोजनविपरीत सामान बोकेको पाए, क्षमताभन्दा बढी राखे र भाडा दरभन्दा बढी भाडा लिए कारबाही गर्न भनेकाछौं ।’






