धनगढी–फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट थुप्रै नयाँ अनुहार निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यको रूपमाउनीहरूले पद तथा गोपनीयताको शपथ लिएपछि उनीहरू आधिकारिक रूपमा सांसद बन्नेछन् । शपथ ग्रहणको काम बाँकी नै छ । तरकतिपय सांसदहरूले भने आफूलाई कार्यकारी प्रमुख झैँ प्रस्तुत गर्दै ‘स्टन्ट’ सुरू गरिसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसददेखि अन्य दलका नयाँ अनुहारहरूले पदीय जिम्मेवारी र संवैधानिक क्षेत्राधिकार बाहिर गएर निर्देशन दिनेर अनुगमन गर्ने होडबाजी चलाएपछि यसले कानुनी र संवैधानिक प्रश्न उब्जाएको छ ।

सबैभन्दा बढी चर्चा र विवादमा रास्वपाकी नवनिर्वाचित सांसद आशिका तामाङ देखिएकी छन् । उनले धादिङको मलेखुदेखि ताल्तीसम्मचल्ने सवारी साधनलाई पटके कर नलिन सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘निर्देशन’ दिएकी छिन् ।
तामाङले लेखेकी छिन्, ‘आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नुपर्ने छैन, मैले सम्बन्धित निकायमानिर्देशन दिइसकेको जानकारी गराउँछु ।’ यति मात्र होइन, उनले बेनीघाट–रोराङ गाउँपालिकामा भइरहेको बालुवा उत्खनन रोक्न पनि‘निर्देशन’ दिएकी छिन् र पालना नगरे कारबाही गर्ने चेतावनी समेत दिएकी छिन् ।
तर संविधानविद् र विज्ञहरूले यसलाई ‘लोकरिझ्याइँ’ र ‘अधिकार क्षेत्रको उल्लंघन’ भनेका छन् । नेपालको संविधानको अनुसूची ८अनुसार स्थानीय कर उठाउने अधिकार स्थानीय तहको एकल अधिकारभित्र पर्छ । संघीय सांसदलाई स्थानीय तहको कर प्रणालीमाप्रत्यक्ष हस्तक्षेप गर्ने वा निर्देशन दिने कुनै संवैधानिक अधिकार छैन ।
अनुगमन र छलफलको होड
तामाङ मात्र होइन, अन्य सांसदहरू पनि शपथ अगावै विभिन्न निकायमा पुगेर दबाब दिन थालेका छन् । रास्वपाका अर्का सांसद सुदनगुरुङ निर्माणाधीन संसद् भवनको अनुगमनमा पुगेका छन् भने नेपाल टेलिकमका अधिकारीहरूलाई बोलाएर डाटा प्याक र नेटवर्ककोसमस्या समाधान गर्न ‘निर्देशन’ दिइरहेका छन् ।
त्यस्तै मकवानपुर–१ का सांसद प्रकाश गौतमले हेटौँडा अस्पतालको सुधारका लागि भन्दै सरोकारवालासँग बैठक राखेका छन् ।अस्पतालको भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा उनले चासो देखाएका छन् । शपथ नै नलिई आधिकारिक भूमिकामा प्रवेशगर्नुले संसदीय मर्यादामाथि प्रश्न उठाएको छ । यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । कतिपय सांसदहरु सरकारी कार्यालय प्रमुख, प्रमुखजिल्ला अधिकारी, प्रहरी प्रमुखलाई सांसदकै हैसियतमा फोन गरेर निर्देशन दिएर उक्त कुरा सार्वजनिक गर्दे ‘जनसेवा’ गरेको भनिरहेकाछन् ।
विज्ञ भन्छन्– सांसद विधायक हो, कार्यकारी होइन
संविधानसभा सदस्य तथा स्थानीय तह मामिला जानकार कृष्णप्रसाद सापकोटाका अनुसार नेपालको संविधानले राज्यका तीन तह(संघ, प्रदेश र स्थानीय) बिच अधिकारको स्पष्ट बाँडफाँट गरेको छ । ‘धारा ५६ ले राज्यका तीन तहको व्याख्या गरेको छ । स्थानीयतहको वित्तीय अधिकार र कर संकलनको आफ्नै प्रक्रिया हुन्छ । एकजना सांसदले भन्दैमा कर लाग्ने वा नलाग्ने हुँदैन,’ उनले भने ।
जेनजी अगुवा समेत रहेका अधिवक्ता माजिद अन्सारीले सांसद तामाङको कदमलाई संघीयताको मर्म विपरीत भनेका छन् । ‘स्थानीयतह संघीय सरकार वा सांसदको इकाई होइन, यो स्वायत्त निकाय हो,’ अन्सारी भन्छन्, ‘सांसदको काम कानुन बनाउने हो, कर उठाउने वारोक्ने ‘कार्यकारी’ आदेश दिने होइन । प्रधानमन्त्री वा राष्ट्रपतिलाई समेत व्यक्तिगत रूपमा यस्तो निर्देशन दिने अधिकार छैन ।’
उनी सहित जेनजी अगुवाहरुले भूमिका नबुझी नवनिर्वाचित सांसदले स्टन्ट गर्दा अराजकता हुने टिप्पणी गरिरहेका छन् ।
स्थानीय तहको उच्च चासो
गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सांसदहरूको यस्तो सक्रियतालाई नजिकबाट हेरिरहेको बताइन् । उनलेभनिन्, ‘अहिले नै टिप्पणी गरिहाल्नु हतार होला, तर हामीले संविधान र संघीयताको अधिकारको सन्दर्भमा यी गतिविधिहरूलाई चासोकासाथ हेरेका छौँ । सरकार र संसद् पूर्ण रूपमा सञ्चालन भएपछि उहाँहरूको भूमिकाबारे थप स्पष्ट हुनेछ ।’
नेपाल नगरपालिका संघका पदाधिकारीहरु पनि यही तर्क गर्छन् । ‘कतिपय सांसदहरुलाई आउने बित्तिकै काम देखाऊँ भन्ने भएको होलातर शैली र कानुनी विधि त फलो गर्नुपर्छ । अहिले कमेन्ट गरिनहालौँ । समयले देखाउला नि,’ संघका एक पदाधिकारी भन्छन् ।
भूमिका बाहिरको स्टन्ट ‘अराजकता’
राजनीतिक विश्लेषकहरु नयाँ सांसदहरूमा देखिएको काम गर्ने हुटहुटी र जनताको समस्या समाधान गर्ने उत्साह प्रशंसनीय भए पनित्यसले कानुनी मार्ग र संवैधानिक परिधि नाघ्नु अराजकताको संकेत भएको टिप्पणी गर्छन् ।
अघिल्लो पटक पनि सांसद भएका रास्वपाकै एक सांसद भन्छन्, ‘सांसदको मुख्य भूमिका संसद्मा नीति र कानुन निर्माण गर्नु हो । तरसडक र कार्यालयहरूमा गएर स्टन्ट शैलीमा निर्देशन दिने प्रवृत्ति राम्रो होइन ।‘ त्यही कुरा सुधार गर्न रास्वपाले अभिमुखीकरण गरिरहेकोउनी बताउँछन् । ‘बिस्तारै सांसदहरु परिपक्व हुन्छन् । नयाँ–नयाँ भएर यसो भएको हो,’ उनी भन्छन् ।






