धनगढी, २३ फागुन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष र समानुपातिक सिट जोड्दा प्रतिनिधिसभामा दुई तिहाइ नजिक पुग्ने सम्भावना देखिएको छ। हालसम्मको मतगणना विवरण अनुसार रास्वपा प्रत्यक्षतर्फ ५५ स्थानमा विजयी भइसकेको छ भने ६६ स्थानमा अग्रता कायम गरेको छ। यस आधारमा प्रत्यक्षतर्फ मात्रै रास्वपाले कम्तीमा १२१ सिट जित्ने सम्भावना बलियो देखिएको छ।
रास्वपाले अग्रता नलिएका करिब ३० निर्वाचन क्षेत्रमध्ये पनि एक–दुई स्थानमा अन्तिम मतगणनामा आफ्नो पक्षमा नतिजा पार्न सक्ने सम्भावना रहेको विश्लेषण गरिएको छ। यस हिसाबले प्रत्यक्षतर्फ रास्वपाले कम्तीमा १२१ सिट सुनिश्चित गरेको अनुमान गरिएको छ।
समानुपातिकतर्फ देशभर करिब ८ लाख मत गणना भइसकेको छ। हालसम्मको विवरण अनुसार रास्वपाले करिब ४ लाख ११ हजार मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ५१ प्रतिशत हो। यस्तै, नेपाली कांग्रेसले करिब १ लाख ३८ हजार मत प्राप्त गरेको छ, जुन करिब १७ प्रतिशत हुन आउँछ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले करिब १ लाख १० हजार अर्थात करिब १३–१४ प्रतिशत मत पाएको छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले समानुपातिकतर्फ आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका छन्। तर श्रम संस्कृति पार्टी भने २ प्रतिशतभन्दा तल रहेकाले थ्रेसहोल्ड पार गर्न सकेको छैन। अन्य दलहरूको मत अनुपात पनि त्यसभन्दा कम देखिएको छ।
तराईका आठ जिल्लामध्ये केही स्थानमा मात्रै समानुपातिक मतगणना भइरहेको छ भने आधाभन्दा बढी क्षेत्रमा प्रत्यक्षतर्फको गणना अझै जारी छ। विश्लेषकहरूका अनुसार शहरी क्षेत्र र तराईमा रास्वपाले उल्लेख्य मत प्राप्त गरेको अनुमान गरिएकाले आगामी गणनासँगै उसको मत अनुपात अझ बढ्न सक्ने सम्भावना रहेको छ।
यद्यपि, समानुपातिकमा देशभर खसेकको करिब ८ प्रतिशत मत पनि गणना नभएकाले अहिले नै दलहरूको अवस्था आकलन गर्नकठिन हुन्छ तर, हाल कायम रहेको अनुपात यथावत् रहेमा रास्वपाले समानुपातिकतर्फ आधाभन्दा बढी सिट प्राप्त गर्ने देखिएको छ।
निर्वाचन आयोगले अपनाउने समानुपातिक गणना पद्धतिका आधारमा रास्वपाले करिब ६१–६२ सिट पाउने अनुमान गरिएको छ। अहिलेको मत अनुपातलाई आधार मान्दा कांग्रेसले २१ सिट र एमालेले १६ सिट पाउने देखिन्छ। यस्तै नेकपाले ८ सिट तथा राप्रपाले ४ सिट प्राप्त गर्ने सम्भावना छ। यद्यपि थ्रेसहोल्डको हिसाब तथा थ्रेसहोल्ड नकटाउने दलहरूको मत कटौती गर्दा अन्तिम सिट संख्यामा एक–दुई सिट तलमाथि हुन सक्ने बताइएको छ।
रास्वपा दुई तिहाइ नजिक, प्रत्यक्षमा १२१ सिट र समानुपातिकमा ६१–६२ सिटको सम्भावना ! अन्य दलले कति ?
रास्वपा दुई तिहाइ नजिक, प्रत्यक्षमा १२१ सिट र समानुपातिकमा ६१–६२ सिटको सम्भावना ! अन्य दलले कति ?

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





