धनगढी, ४ फागुन/धनगढी उपमहानगरपालिका–३, विशालनगरस्थित दिपेन्द्र प्रहरी स्कूलसँगै जोडिएको होटल कैलाली सिद्धार्थ प्रा.लि. को दर्ता प्रमाणपत्रमा अध्यक्ष राजबहादुर ऐरको हस्ताक्षर रहेको खुलेपछि विवाद चुलिएको छ।
विद्यालयसँगै होटल सञ्चालनको अनुमति दिइएको विषयमा स्वास्थ्य सेवा ऐन, २०७७ विपरीत कार्य भएको भन्दै आलोचना सुरु भएको हो। स्वास्थ्य सेवा ऐनको दफा ३० (२) ले खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री गर्न बन्देज लगाएको छ । दफा ३० (३) ले विद्यालय, सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा हाटबजारजस्ता क्षेत्रको ३०० मिटरभित्र धुम्रपान तथा मदिरापान निषेध गरेको छ। दफा ३० (४) मा निषेधित क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण वा सेवन गराएमा स्थानीय प्रशासनको सहयोगमा कारबाही गर्न सकिने व्यवस्था उल्लेख छ।
यस्ता स्पष्ट कानुनी प्रावधान हुँदाहुँदै विद्यालयसँगै जोडिएको होटललाई दर्ता गरी सञ्चालन अनुमति दिनु ऐनको बर्खिलाप भएको स्थानीयको आरोप छ। ७ भदौ २०८१ मा दर्ता भएको होटलले सुरुआती चरणमै ठूलो ध्वनिमा गानाबजाना गर्दै ठूलो संख्यामा पाहुनालाई आमन्त्रण गरी मदिरा सेवन गराएको गुनासो उठेको छ।
अध्यक्ष ऐरले भने “नियमसंगत भए/नभएको हेर्न सकिने” प्रतिक्रिया दिएका छन्। होटलले रोजगारी सिर्जना गरिरहेको दाबी गर्दै उनले विषय अध्ययन गर्ने बताएका छन्। सञ्चालक र पत्रकारबीच समन्वय गराइदिने अभिव्यक्ति दिएको विषय सार्वजनिक भएपछि थप प्रश्न उठेको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको धनगढीमा कडा स्वास्थ्य ऐन ल्याएर प्रशंसा कमाएको उपमहानगरपालिका आफैंले कार्यान्वयनमा बेवास्ता गरेको भन्दै सर्वसाधारणले छानबिन र कारबाहीको माग गरेका छन्।
विद्यालयसँगै होटल दर्ता विवाद : स्वास्थ्य सेवा ऐनविपरीत अनुमति दिएको आरोप
विद्यालयसँगै होटल दर्ता विवाद : स्वास्थ्य सेवा ऐनविपरीत अनुमति दिएको आरोप

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





