धनगढी, १८ फागुन/फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रदेश प्रहरी कार्यालय ले सुदूरपश्चिम प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमबहादुर राना ले एकीकृत सुरक्षा योजनाअनुसार काम भइरहेको जानकारी दिँदै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला–जिल्लामा थप प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार मतदान स्थलमै सुरक्षाकर्मी परिचालन गर्ने कार्य तीव्र पारिएको छ।
“सात हजारभन्दा बढी नेपाल प्रहरी, १३ हजार पाँच सय निर्वाचन प्रहरी तथा सशस्त्र प्रहरी र नेपाली सेनासहित ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिरहेका छौं,” डीआईजी रानाले भने।
आज मध्यरातदेखि सुरु हुने मौन अवधिलाई लक्षित गर्दै थप सतर्कता अपनाइएको उनले बताए। प्रदेशभर एसएसपीसम्मका अधिकृतलाई फिल्डमै खटाइएको जानकारी दिँदै उनले १७७ मोबाइल टोली र २० रिजर्भ टोली तयारी अवस्थामा राखिएको उल्लेख गरे।
अतिसंवेदनशील मतदान केन्द्रमा सिसी क्यामेरा जडान गर्ने काम भइरहेको र आवश्यक परे हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।
१७ लाखभन्दा बढी मतदाता र १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा कुल १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र रहेका छन्। तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन्। यस्तै, ३०० सामान्य र ३९५ संवेदनशील मतदानस्थल रहेका छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील केन्द्र रहेका छन्।






