सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री ओमविक्रम भाट ”सरल”ले आइतबार धनगढीस्थित एक होटलमा ठूलो संख्यामा पत्रकार बोलाएर भेटघाट गरेका छन्।मन्त्रीमा नियुक्त भएपछि पत्रकारहरूसँग औपचारिक रूपमा भेटघाट हुन नसकेको भन्दै उनले पत्रकारसँग सुझाव लिन र सम्बन्ध विस्तारका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
करिब ७०–८० जना पत्रकार उपस्थित कार्यक्रममा मन्त्री भाटले कुनै विशेष विषयमा औपचारिक घोषणा वा जानकारी भने दिएनन्।

‘पत्रकार भेटघाट र सुझाव लिन’ मात्र कार्यक्रम आयोजना गरिएको बताएपछि सहभागी पत्रकारहरू केही समय अन्योलमा परेका थिए।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको विषयमा पनि कार्यक्रममा मन्त्री भाटले कुनै विशेष धारणा राखेनन्। भौतिक पूर्वाधारसँग सम्बन्धित बजेट छिट्टै आउने बताए पनि त्यसको निश्चित समय भने खुलाउन सकेनन्।
कार्यक्रम तीजको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो। मन्त्री भाटले पत्रकारहरूलाई खाजा खुवाएर कार्यक्रम समापन गरेका थिए।






