फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माण चरणमा प्रवेश गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गर्दै सरकारले यसै वर्ष ठेक्का प्रक्रिया अघि बढाउने घोषणा गरेको हो।
नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते शुक्रवार संसदमा बजेट प्रस्तुत गर्दै क्रिकेटको सहर धनगढीमा अवस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सँगै २ हजार दर्शक क्षमताको इनडोर मल्टिपर्पस स्टेडियम निर्माण कार्य अघि बढाइने जानकारी दिएका छन्। सरकारले इनडोर मल्टिपर्पस स्टेडियम आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसमेत राखेको छ।

लामो समयदेखि चर्चामा रहेको फाप्ला परियोजनाको निर्माण प्रक्रिया अब औपचारिक रूपमा सुरु हुने भएपछि सुदूरपश्चिममा उत्साह थपिएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिले वर्षौँदेखि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्दै आयोजना कार्यान्वयनको आधार तयार गरेको थियो।
समितिका अध्यक्ष सुवास शाहीका अनुसार २०६६ सालदेखि सुरु भएको फाप्ला अभियान अन्तर्गत मैदान सम्याउने, पिच निर्माण गर्ने, सडक विस्तार, विद्युत तथा पानीको पहुँच पुर्याउने काम सम्पन्न गरिएको थियो। धनगढी क्रिकेट लिग (डिसिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता प्रतियोगिताले फाप्ला लाई राष्ट्रिय स्तरमा परिचित गराएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार ‘ड्रिम फाप्ला’ अभियानमार्फत फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन भएको थियो। त्यसपछि साढे ३८ बिघा जग्गा प्राप्तिसम्बन्धी कानुनी जटिलता समाधान गर्नुका साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) लगायतका प्रक्रिया पूरा गरी आयोजनालाई राष्ट्रिय आयोजना बैंकमा समावेश गरिएको थियो।
बजेट घोषणासँगै अब फाप्ला क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, इनडोर मल्टिपर्पस स्टेडियम तथा अन्य खेल पूर्वाधार निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ। परियोजनाले सुदूरपश्चिममा खेलकुदसँगै पर्यटन, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा समेत गेम चेन्जर परियोजनाका रूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
अध्यक्ष शाहीले फाप्लाको भौतिक निर्माण सुरु हुने सुनिश्चितताले सुदूरपश्चिम बासीको दशकौँ देखिको सपना पूरा हुने चरणमा पुगेको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गर्दै खुसी व्यक्त गरेका छन्।





