धनगढी, २३ बैशाख/सन नेपाल लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश कार्यालयमा कर्मचारी व्यवस्थापन, सरुवा र सेयर (आईपीओ) प्रक्रियासम्म जोडिएका गम्भीर अनियमितताका आरोपहरू सार्वजनिक भएका छन्। पूर्व तथा वर्तमान कर्मचारीहरूले प्रदेश प्रमुख लक्ष्मीकान्त जैशी घोडासैनीमाथि नातावाद, कृपावाद र विभेदपूर्ण व्यवहार गरेको दाबी गरेका छन्।
खोजमूलक कुराकानी र प्राप्त विवरणअनुसार, प्रदेश कार्यालयभित्र कर्मचारी व्यवस्थापनमा असमान व्यवहार देखिएको आरोप छ। कम्पनीसँग आबद्ध विभिन्न व्यक्तिहरूसँग गरिएको कुराकानीमा एउटै प्रवृत्ति दोहोरिएको देखिन्छ—‘आफन्तलाई प्राथमिकता, अरूलाई उपेक्षा ।’
पूर्व कर्मचारी भोज बोहराले आफूलाई छोटो अवधिमै पटक–पटक सरुवा गरिएको दाबी गरेका छन्। उनका अनुसार अछामबाट ताप्लेजुङ्ग र त्यसपछि भोजपुरसम्म सरुवा गरिएको थियो। ‘माथिल्लो तहसम्म सिफारिस गरेर सरुवा गरियो। कामको मूल्याङ्कनभन्दा पनि व्यक्तिगत मनोवृत्तिका आधारमा निर्णय भएको महसुस भयो,’ उनले भने । उनले दुर्घटनापछि उपचारकै अवस्थामा काम गर्न बाध्य बनाइएको र त्यसपछि स्पष्टीकरण सोधिएको आरोप पनि लगाए।
कर्मचारीहरूको दाबी अनुसार केही व्यक्तिलाई छोटो अवधिमै स्थायी नियुक्ति दिइएको छ, जबकि अन्यले वर्षौं काम गर्दा पनि करारमै बस्नुपरेको छ।
एक पूर्व कर्मचारी भन्छनः ‘हामीले वर्षौं योगदान गर्दा पनि स्थायी हुन सकेनौं, तर सम्बन्ध भएका व्यक्तिहरू छिट्टै स्थायी भए।’
यसले संस्थाभित्र अवसरको समानता र पारदर्शितामाथि प्रश्न उठाएको छ । नाम नखुलाउने शर्तमा अर्का एक पूर्व कर्मचारीले राजीनामापछि पाउनुपर्ने सेवा–सुविधा र बोनस नपाएको बताए । ‘एक वर्ष बितिसक्दा पनि दुई वर्षको बोनस पाएको छैन,’ उनले भने, ‘सम्बन्धित निकायमा समन्वयका लागि अनुरोध गर्दा पनि सुनुवाइ भएन ।’
केही कर्मचारीहरूले कम्पनीको सेयर (आईपीओ) प्रक्रियामा समेत गम्भीर प्रश्न उठाएका छन् । उनीहरूका अनुसार खाली कागजमा हस्ताक्षर गराएर पछि आफूअनुकूल विवरण भर्ने गरिएको थियो । यस्ता आरोपहरू पुष्टि हुन सकेमा यो विषय नियामक निकायको गम्भीर चासोको विषय बन्न सक्छ ।
प्रदेश प्रमुख लक्ष्मीकान्त जैशी घोडासैनीले यी आरोपहरूलाई “पुराना विषय” भन्दै विस्तृत प्रतिक्रिया दिन चाहेनन् । उनले आरोपबारे थप टिप्पणी नगरे पनि संस्थाभित्र कुनै समस्या नरहेको संकेत गरेका छन्।
सन नेपाल लाइफ सुदूरपश्चिममा नातावादको जाल ? सरुवा, स्थायी नियुक्ति र आईपीओ प्रक्रियामा अनियमितताको आरोप
सन नेपाल लाइफ सुदूरपश्चिममा नातावादको जाल ? सरुवा, स्थायी नियुक्ति र आईपीओ प्रक्रियामा अनियमितताको आरोप

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





