खानीडाँडा, १४ बैशाख/तराईको चर्को गर्मीबाट राहत लिन नजिकैको पर्यटकीय गन्तव्य खानीडाँडा पुग्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दो छ । कैलालीसहित तराईका विभिन्न क्षेत्रका साथै भारतबाट समेत ठूलो संख्यामा पर्यटक यहाँ पुग्ने गरेका छन् । चिसो हावापानी र रमणीय वातावरणका कारण गर्मी मौसममा खानीडाँडा पर्यटकको पहिलो रोजाइ बन्दै आएको छ ।
तर पछिल्लो समय त्यहाँको वातावरण भने तनावपूर्ण बन्दै गएको गुनासो बढ्न थालेको छ । भर्खरै सरुवा भएर आएका अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) ले होटलमा बसेर समूह–समूहमा खानपीन गरिरहेका पर्यटकलाई केरकार तथा हप्काउने गरेको आरोप लागेपछि पर्यटक मात्र होइन, होटल व्यवसायीसमेत त्रसित हुन थालेका छन् ।
होटल व्यवसायी तथा पर्यटकका अनुसार दिउँसै होटलमा बसेर खानपीन गरिरहेका बेला “किन खाएको ?” भन्दै असईले हप्काउने गरेको गुनासो छ । विशेषगरी पर्यटकको चाप बढी हुने यही मौसममा यस्तो व्यवहारले खानीडाँडाको पर्यटन छवि नै प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

होटल व्यवसायी संघ कैलालीका सदस्य सोमराज सापकोटाका अनुसार नयाँ आएका असईले व्यवसायीसँग समन्वय नगरी गतिविधि गरिरहेका छन् । “उहाँ नयाँ आउनुभएको छ, अहिलेसम्म परिचयात्मक कार्यक्रम पनि गर्नुभएको छैन । आज बोलाउनुभएको छ,” उनले भने, “व्यवसायीलाई सहयोग गर्ने भावना हुनुपर्छ, समन्वय नगरी अघि बढ्नु उहाँको अहमता देखिन्छ । पर्यटकीय क्षेत्र भएकाले अराजक गतिविधि हुनुहुँदैन ।”
अर्का एक होटल व्यवसायीले नाम नखुलाउने सर्तमा असईले होटलका कोठाकोठामा पुगेर खानतलासी गर्ने र ग्राहकलाई थर्काउने गरेको आरोप लगाए । “हामीले गैरकानुनी काम गरेका छैनौं, पर्यटक आउँछन्, खानपीन गर्छन् र फर्किन्छन्,” उनले भने, “तर उहाँ कोठामा छिरेर जाँच गर्नुहुन्छ, यसले हामी मात्र होइन, पर्यटक पनि डराउँछन् ।”
यता, प्रहरी सहायक निरीक्षकले भने आफूहरू सेवाका लागि आएको र व्यवस्थापनमा केन्द्रित रहेको प्रतिक्रिया दिएका छन् । “होटल व्यवसायीहरू सिस्टममा जानुपर्छ,” उनले भने, “हामी पनि सेवाकै लागि आएका हौं ।”
यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले घटनाबारे बुझ्ने बताएका छन् ।
पर्यटकको भीड बढ्ने याममै सुरक्षा निकाय र व्यवसायीबीचको असमझदारीले खानीडाँडाको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सरोकारवालाहरूले समन्वय र सन्तुलित व्यवहार आवश्यक रहेको बताएका छन् ।








