काठमाडौँ— ११ वर्ष लामो कैद सजाय भुक्तान गरेर जेलबाट छुटेका एक व्यक्ति फेरि चोरीमा संलग्न भएको पाइएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका–६, सिद्धिपुरस्थित एक घरमा भएको सुनचाँदी चोरी प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौँ बस्दै आएका ३२ वर्षीय प्रेम लामा र दोलखा घर भई कागेश्वरी मनोहरा बस्ने ३२ वर्षीय सजन कुमार श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार प्रेम लामा यसअघि पनि पटक–पटक चोरी तथा डकैतीमा संलग्न भई कुल ११ वर्ष जेल सजाय काटिसकेका ‘सिरियल चोर’ हुन्।

गत चैत ३ गते कृष्ण प्रसाद श्रेष्ठको घरमा दिउँसै भएको चोरीपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका सुनचाँदीका गरगहना समेत बरामद गरेको जनाएको छ। हाल दुवैलाई प्रहरी वृत्त सातदोबाटोमा राखी चोरी मुद्दामा अनुसन्धान भइरहेको छ। ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।






