धनगढी, ३० फागुन/धनगढीमा नयाँ गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ। स्थानीय स्तरमै गुणस्तरीय कपडा उत्पादन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ ‘किंग हिल्स गार्मेन्ट’ उद्योग सञ्चालनमा ल्याइएको हो।
आज आयोजित एक कार्यक्रमका बीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले उद्योगको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
लामो समयदेखि पत्रकारितामा सक्रिय हर्क सिंह प्रपाला र केशव सिंह बिकले संयुक्त रूपमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन्। पत्रकार प्रपाला एभिन्युज टेलिभिजनका सुदूरपश्चिम व्यूरो प्रमुख हुन् । करिब ४० लाख रुपैयाँभन्दा बढी लागतमा स्थापना गरिएको उद्योगमा हाल २५ जनाले रोजगारी पाएका छन्।
नेपाल राष्ट्र बैंक–सहिद गेट सडक खण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–५ तारानगरमा सञ्चालनमा आएको उद्योगले विद्यालय पोशाक, कोट–पाइन्ट, सर्टिङ–सुटिङ लगायत विभिन्न प्रकारका कपडा सिलाइ तथा उत्पादन गर्ने जनाएको छ।
उद्योगका प्रोपाइटर हर्क सिंह प्रपालाले स्थानीय स्तरमै गुणस्तरीय गार्मेन्ट सेवा उपलब्ध गराउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उद्योगमार्फत स्थानीय बजारको माग पूरा गर्नुका साथै भविष्यमा उत्पादन विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
उद्योग सञ्चालनसँगै स्थानीय युवालाई रोजगारीको अवसर सिर्जना हुनुका साथै धनगढी क्षेत्रमा साना तथा मझौला उद्योगको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
धनगढीमा ‘किंग हिल्स गार्मेन्ट’ उद्योग सञ्चालनमा : विद्यालय पोशाकदेखि कोट–पाइन्टसम्म उत्पादन, २५ जनालाई रोजगारी
धनगढीमा ‘किंग हिल्स गार्मेन्ट’ उद्योग सञ्चालनमा : विद्यालय पोशाकदेखि कोट–पाइन्टसम्म उत्पादन, २५ जनालाई रोजगारी

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





