धनगढी, २७ फागुन/रातको करिब १२ बजेको समय । घर शान्त थियो । पाँच महिनाको भाइ रोएपछि ९ वर्षीया छोरी निद्राबाट ब्यूँझिइन । आमालाई ओछ्यानमा नदेखेपछि उनी खोज्दै हलतिर पुगिन । त्यहाँ उनले देखेको दृश्यले उनको जीवन नै बदलिदियो आमा सरस्वती अवस्थी जोशी रगताम्य अवस्थामा भुइँमा ढलेकी थिइन । आत्तिएकी छोरीले सानो भाइलाई काखमा बोकेर घरबाहिर दौडिइन् र छिमेकीलाई खबर गरिन । तर, त्यतिबेला धेरै ढिला भइसकेको थियो । २३ फागुनको राति धनगढी उपमहानगरपालिका–७, देवहरियामा भएको यो घटनाले दुई साना बालबालिकाको संसार एकै रातमा उजाड बनाइदियो ।
माया गर्ने श्रीमानबाटै हत्या
प्रहरी अनुसन्धानका अनुसार सरस्वतीको हत्या उनका श्रीमान् डम्मरराज जोशीले गरेका हुन । घरमै फलामको हतौडाले टाउकोमा पटक–पटक प्रहार गरेर उनले श्रीमतीको हत्या गरेका थिए । हत्या गरेपछि जोशी रगत लागेको कपडामै करिब ४ लाख ६२ हजार रुपैयाँ लिएर मोटरसाइकलमा फरार भएका थिए । उनी मोटरसाइकल चिसापानीमा छोडेर ट्रक चढेर बाँकेतर्फ गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
फेशबुक पोष्टले गरायो पक्राउ
उता, फरार भएका जोशी बाँकेको राप्ती सोनारी गाउँपालिका पुगेपछि उनलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । गाउँमा अपरिचित व्यक्ति घुमिरहेको भन्दै जोशीलाई नियन्त्रणमा लिएपछि स्थानीय मोहनसिंह साउँदले उनको फोटो फेशबुकमा पोष्ट गरेका थिए ।
डिप्रेसन र शंकाले बिग्रिएको मन
प्रहरीका अनुसार जोशी केही समयदेखि डिप्रेसनबाट ग्रसित थिए। उनको मनमा श्रीमतीले आफ्नो जग्गा बेचेर माइतीलाई दिने योजना बनाएकी छन् भन्ने शंका बस्न थालेको थियो। परिवारका सदस्यहरूका अनुसार उनी कहिलेकाहीँ अत्यधिक रिसाउने, झर्किने र आफ्नाविरुद्ध षड्यन्त्र भइरहेको सोच्ने व्यवहार देखाउन थालेका थिए।
अन्तिम क्षणमा पनि श्रीमानलाई छाडिनन्
घटनाको रात जोशीकी आमाले बुहारी सरस्वतीलाई आफूलाई सँगै अर्को घरमा सुत्न आउन भनेकी थिइन । तर, सरस्वतीले श्रीमानलाई त्यस्तो अवस्थामा एक्लै छाड्न नमानेर घरमै बस्ने निर्णय गरिन । त्यही निर्णय उनको जीवनको अन्तिम निर्णय बन्यो ।
दुई साना बालबालिका भए टुहुरा
सो घटनापछि पाँच महिनाको छोरा र ९ वर्षीया छोरी आमाविहीन बनेका छन् । परिवारले उनीहरूलाई सम्हालिरहेको भए पनि बालबालिकाको अवस्था निकै पीडादायी रहेको बताइन्छ ।
जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।







