धनुषा, १६ फागुन/धनुषामा भएको एक युवकको बीभत्स हत्या प्रकरणमा संलग्न रहेको आरोपमा मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार गत फागुन १४ गते बिहीवार अपरान्ह करिब ४ बजे औरही गाउँपालिका–६ चक्करस्थित भित्री सडक खण्ड्भन्दा करिब ३०० मिटर पूर्वतर्फको मसुरी खेतमा एक युवकको शव फेला परेको थियो। घाँटी रेटिएको अवस्थामा फेला परेको शवको पहिचान हंसपुर नगरपालिका–९ बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको थियो। उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए।
प्रेम सम्बन्धबाट सुरु भएको विवाद, अन्ततः हत्या
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक सुमित र हंसपुर नगरपालिका–६ सोनिगामा बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।
फागुन १३ गते साँझ काजलले घरमा कोही नभएको मौका छोपी सुमितलाई भेट्न बोलाएकी थिइन्। तर, सोही क्रममा काजलका परिवारका सदस्यहरूले उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि चर्को विवाद सुरु भएको प्रहरीले जनाएको छ।
डोरीले बाँधेर सुनसान खेतमा लगेर खुकुरी प्रहार
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुग्मबहादुर कुँवरका अनुसार विवादपछि सुमितलाई नियन्त्रणमा लिई काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र काकाका छोरा (दाजु) २९ वर्षीय परमेश्वर मण्डलले भैँसी बाँध्ने डोरीले दुवै हात पछाडि बाँधेका थिए।
त्यसपछि उनीहरू सुमितलाई आफ्नै मोटरसाइकलमा राखी करिब डेढ किलोमिटर टाढा मानव बस्ती नभएको मसुरी खेतमा लगेका थिए। त्यहीँ खुकुरी (दाउ) प्रहार गरी घाँटी रेटेर सुमितको हत्या गरिएको प्रहरीको भनाइ छ।
प्रमाण लुकाउने प्रयास, मोटरसाइकल र हतियार बरामद
हत्या पश्चात अभियुक्तहरूले प्रमाण लुकाउने उद्देश्यले सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाएर राखेका थिए।
प्रहरीले उक्त मोटरसाइकल, हत्यामा प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) तथा हात बाँध्न प्रयोग गरिएको डोरी समेत बरामद गरिसकेको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि ज्यान सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ भने प्रेम सम्बन्धलाई लिएर भएको यो निर्मम हत्याले समाजमा गम्भीर प्रश्न खडा गरेको छ।
प्रेम सम्बन्धले लियो ज्यान : घरमै विवादपछि सुनसान खेतमा घाँटी रेटेर हत्या
प्रेम सम्बन्धले लियो ज्यान : घरमै विवादपछि सुनसान खेतमा घाँटी रेटेर हत्या

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





