धनगढी, १२ फागुन/आजभन्दा करिब २३ वर्षअघि धनगढी मात्र होइन, समग्र सुदूरपश्चिममै पारिवारिक रेस्टुरेन्टको अभाव थियो। होटल–रेस्टुरेन्टमा परिवारसहित गएर समय बिताउने संस्कृतिको विकास भइसकेको थिएन। २०५९ सालमा बेल्स क्याफे सञ्चालनमा आएपछि भने यस क्षेत्रमा आतिथ्यता संस्कृतिको नयाँ सुरुवात भयो। पारिवारिक वातावरणमा बसेर खानपिन र रमाइलो गर्ने परिपाटी बसाल्दै क्याफेले लगानी र रोजगारीका अवसरहरू समेत सिर्जना गर्यो।
होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयका अनुसार बेल्स क्याफेले रेस्टुरेन्टमा गएर खाने र रमाउने संस्कृतिको विकास गर्यो। त्यसपछि यस क्षेत्रमा सम्भावना देखेर लगानीकर्ताहरू थपिँदै गए र व्यवसाय विस्तार हुन थाल्यो।
नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंह भन्छन्, “रेस्टुरेन्ट कल्चर यहाँ बेल्स क्याफेले सिकाएको हो। त्यसपछि मात्रै यहाँका व्यवसायीहरू उत्साहित भएर यो क्षेत्रमा आए।” उनका अनुसार बेल्स क्याफेले छिमेकी भारत बाट आउने पर्यटकहरूलाई समेत आकर्षित गरेको छ। परिवारसहित धनगढी आएर खानपिन र रमाउने वातावरण निर्माण भएको छ।

ओम प्यालेसले ल्यायो सभा–सम्मेलन
संस्कृति दुई दशकअघि सुदूरपश्चिममा ठूला सभा–सम्मेलन गर्न उपयुक्त हलको अभाव थियो। धेरै राष्ट्रियस्तरका कार्यक्रमहरू नेपालगन्ज मा आयोजना हुने गर्थे।
२0६४ सालमा ओम प्यालेस स्थापना भएपछि धनगढीमै सभा, सम्मेलन, विवाह, ब्रतबन्ध तथा अन्य सामाजिक कार्यक्रमहरू व्यवस्थित रूपमा हुन थाले।
होटेल व्यवसायी संघ कैलालीका महासचिव आवेश चन्दका अनुसार ओम प्यालेसले हस्पिटालिटी क्षेत्रमा क्रान्ति नै ल्यायो। त्यसपछि यस क्षेत्रमा थुप्रै पार्टी प्यालेसहरू सञ्चालनमा आए। लगानी, रोजगारी र उद्योगको विकास बेल्स क्याफे र ओम प्यालेसले भित्र्याएको नयाँ आतिथ्य संस्कृतिका कारण आज सुदूरपश्चिमको हस्पिटालिटी क्षेत्रमा अर्बौं लगानी भइसकेको छ। दुई हजार पाँच सयभन्दा बढीले स्थानीयस्तरमै रोजगारी पाएको महासचिव चन्दको भनाइ छ। साथै, सुदूरपश्चिममै स्टार होटलहरू खुल्ने क्रम बढिरहेको छ।


शाह परिवारको योगदान
सुदूरपश्चिममा आतिथ्य संस्कृतिको सम्भावना देखेर त्यसलाई उद्योगमा रूपान्तरण गर्ने श्रेय मोहन शाहको परिवारलाई जान्छ। सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय मोहन शाहका छोराहरू नर नारायण शाह ‘मनु’, महेश शाह र मोहित शाहले यस क्षेत्रमा नयाँ सम्भावना खोजेका थिए। अमेरिकाको सहज जीवनशैली छोडेर फर्किएका महेश शाहको परिकल्पना र जेठा दाइ मनुको नेतृत्वमा सुरु भएको व्यवसाय आज उद्योगको रूपमा स्थापित भएको छ।
हाल नर नारायण शाह ‘मनु’ कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका छन्। विकास, रोजगारी, पर्यटन विस्तार र आधुनिक पूर्वाधार निर्माण उनका प्रमुख एजेन्डा रहेको बताइएको छ।






