धनगढी, ११ फागुन/प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भारतसँग जोडिएका कैलाली जिल्लाका सबै सीमा नाका केही दिनका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी सूचनाअनुसार २०८२ फागुन १८ गते राति १२:०० बजेदेखि २०८२ फागुन २१ गते राति १२:०० बजेसम्म सीमा नाका बन्द रहनेछ।
त्यस्तै, मतदान कार्य सम्पन्न नहुँदासम्म सवारी साधन सञ्चालनमा समेत कडाइ गरिने जनाइएको छ। यद्यपि एम्बुलेन्स, दमकल, अस्पताल सेवा, शव वाहन, विद्युत सेवा, कूटनीतिक नियोगका सवारी साधन तथा अनुमति प्राप्त अत्यावश्यक सेवाका सवारी साधनलाई भने सञ्चालनको अनुमति दिइनेछ।
प्रशासनले सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सूचनाअनुसार सहयोग गर्न अनुरोध गरेको छ।







