निर्वाचन आयोगले आफ्नो वेबसाइट तथा मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच नरहेको स्पष्ट पारेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज निकाल्नुभएकाे विज्ञप्तिमा आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नरहेको उल्लेख छ ।

आयोगले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राखिएका दाबीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
कानून बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको र निरन्तर अनुगमन, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेको आयोगको भनाइ छ ।






