उपसभामुख रुबीकुमार ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । जनआस्था साप्ताहिकमा आफ्नोबारेमा गलतसमाचार प्रकाशित गरेको भन्दै उनले प्रहरी गुहारेकी हुन् ।
श्रेष्ठ यसअघि दीपिका सिंहको जाहेरीमा पक्राउ परेका थिए । आज सर्वोच्चले उनलाई रिहा गर्ने आदेश दिएको छ । तर आजै अर्कोजाहेरी दर्ता भएपछि श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गर्न सक्ने आशंका गर्न थालिएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै ठाकुरले आफ्नो ‘दाइ’ सँगको सम्बन्धलाई अन्यथा चित्रण गरेर समाचार लेखेकाले न्याय खोजेको बताइन् ।‘उहाँ (दीपकजङ्ग) मेरो राखी बाँध्ने दाइ हो । अघिल्लो साल पनि बाँधेको, यो साल पनि बाँध्छु । तर जनआस्थाले हामीले गाडीमाचुम्बन गरेको भनेर समाचार हालेर चरित्र हत्या गरेको छ । त्यसको विरुद्धमा जाहेरी दिएको हुँ,’ उनले भनिन् ।
उपसभामुख ठाकुरको तर्फबाट उनको सचिवालयका व्यक्तिहरु जाहेरी दिन जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेका थिए । २ पेजकोजाहेरीमा प्रकाशित समाचारले आफ्नो इज्जत र प्रतिष्ठामा अपूरणीय क्षति पुर्याएको उल्लेख छ ।
जाहेरीमा भनिएको छ, ‘संवैधानिक पदमा आसिन उपसभामुख जस्तो जिम्मेवार ओहोदामा रहेकी ममाथि यस्तो व्यवहार केवल मेरो पीडामात्र होइन प्रतिनिधिसभाको गरिमा र मुलुककै प्रतिष्ठामाथि सिधा आक्रमण हो भन्ने स्पष्ट देखिन्छ ।’
जाहेरीमा पनि उनले दिपकजङ्गलाई आफूले रक्षाबन्धन बाँधिदिँदै आएको उल्लेख गरेकी छन् । जिप्रका ललितपुरका प्रवक्ता एसपीगौतम मिश्रले जाहेरी दर्ता भएको पुष्टि गरे ।






