धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले पछिल्ला तीन वर्षमा सडक पूर्वाधार विकासतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।
प्रदेश सरकारले कालोपत्रे, ग्राभेल तथा ट्र्याक खोल्ने कार्यलाई समेट्दै कुल १ हजार ३ सय ४० किलोमिटर सडक निर्माण गरेको हो। यस अवधिमा १३ वटा पक्की पुल र ५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्।
सीमित स्रोत–साधनका बाबजुद सडक तथा पुल निर्माणलाई उच्च प्राथमिकतामा राखिएको प्रदेश सरकारको दाबी छ। सडक सञ्जाल विस्तारसँगै दुर्गम क्षेत्रको पहुँचमा सुधार, यातायात सेवा सहजता तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सिँचाइमा प्रगति, अझै ठूलो क्षेत्र बाँकी
सडकसँगै प्रदेश सरकारले सिँचाइ क्षेत्रमा पनि काम अघि बढाएको जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता सुविक श्रेष्ठका अनुसार तीन वर्षमा करिब २३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
प्रदेशमा कुल १ लाख १६ हजार हेक्टर सिँचाइयोग्य जमिन रहेकोमा अझै ६१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्न बाँकी रहेको छ। केन्द्र सरकारमार्फत महाकाली र रानीजमरा सिँचाइ आयोजना सञ्चालनमा रहेका छन्।
खानेपानी र आवासमा पनि प्रगति
तीन वर्षको अवधिमा करिब २ लाख नागरिकलाई खानेपानी सेवा उपलब्ध गराइएको प्रदेश सरकारको दाबी छ। त्यस्तै, जनता आवास कार्यक्रम अन्तर्गत १ हजार ४७ वटा घर निर्माण गरिएको छ भने ४३ वटा सरकारी तथा सामुदायिक भवन निर्माण सम्पन्न भएका छन्। साथै, एकीकृत बस्ती, बालगृह, खेलमैदान र कभर्ड हल निर्माणका काम पनि अघि बढाइएको छ।
बजेट खर्चमा सुस्तता
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयमार्फत १५ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। योजनाहरू क्लस्टरमा विभाजन गरी कार्यान्वयन गरिए पनि आन्दोलन, इन्धन मूल्यवृद्धि लगायतका कारण हालसम्म करिब २२ प्रतिशत मात्र खर्च प्रगति भएको छ। यद्यपि मन्त्रालयले आर्थिक वर्ष अन्त्यसम्म ८० प्रतिशतभन्दा बढी खर्च गर्ने लक्ष्य राखेको जनाएको छ।
प्रश्नमा कार्यक्षमता
पूर्वाधार निर्माणमा उपलब्धि हासिल भए पनि बजेट कार्यान्वयनमा देखिएको सुस्तताले प्रदेश सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ।
आगामी दिनमा योजनाको प्रभावकारी कार्यान्वयन र समयमै खर्च व्यवस्थापन गर्न सके मात्र विकासका उपलब्धि दिगो बन्ने अपेक्षा गरिएको छ।
“३ वर्षमा १३४० किमि सडक निर्माण, तर बजेट खर्च २२% मात्र”
“३ वर्षमा १३४० किमि सडक निर्माण, तर बजेट खर्च २२% मात्र”

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





