धनगढी। कैलालीको घोडाघोडी नगरपालिकाले नगरवासीलाई लक्षित गर्दै निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । सवारी साधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म लैजान कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।
नगर प्रमुख खडक बहादुर रावतका अनुसार दुःखद अवस्थामा पनि नागरिकले थप पीडा भोग्न नपरोस् भन्ने सोचका साथ यो सेवा सञ्चालनमा ल्याइएको हो । मृत्यु जस्तो संवेदनशील समयमा सवारी साधन अभावकै कारण समस्या झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न नगरपालिकाले पहल गरेको उनले बताए ।

नगरपालिकाले ठेक्का प्रक्रियामार्फत करिब रु २८ लाख ८९ हजार लागतमा आधुनिक सुविधा सम्पन्न शववाहन खरिद गरेको जनाएको छ । उक्त शववाहनमा शव सुरक्षित रूपमा राख्न आवश्यक उपकरणहरू जडान गरिएका छन्, जसले सेवा अझ व्यवस्थित र सम्मानजनक बनाउने अपेक्षा गरिएको छ ।
यस सेवाबाट विशेष गरी स्थानीय नागरिकहरू लाभान्वित हुने विश्वास लिइएको छ । अब नगर क्षेत्रभित्र कुनै पनि परिवारले शव व्यवस्थापनका लागि अतिरिक्त आर्थिक बोझ वहन गर्नुपर्ने अवस्था हट्नेछ । सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति तथा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
यसअघि शववाहन अभावका कारण स्थानीयवासीले अन्य पालिकाबाट सेवा लिनुपर्ने बाध्यता रहेको थियो । स्थानीयवासीले यस पहललाई मानवीय तथा सराहनीय कदमका रूपमा लिँदै नगरपालिकाप्रति धन्यवाद व्यक्त गरेका छन् ।





