धनगढी, १५ फागुन/आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारत बीच बाहीनी स्तर (डीआईजी तह) को समन्वयात्मक बैठक भारतको चम्पावतमा सम्पन्न भएको छ।
बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चम्पावत पुगेको थियो। बैठकमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी–निकासी तथा लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।
छलफलका क्रममा निर्वाचनको मौन अवधिभर सीमावर्ती नाका ‘सिल’ गर्ने, निर्वाचन विरोधी तत्वको सम्भावित गतिविधि रोक्न दुवै देशका सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा सहमति जुटाइएको छ। साथै सीमा क्षेत्रमा हुने अवैध तथा गैरकानुनी गतिविधिको सूक्ष्म निगरानी, आवश्यक सूचनाको आदान–प्रदान, संयुक्त प्रयासमार्फत नियन्त्रण, तथा विपद् व्यवस्थापनका सन्दर्भमा समन्वय गरी विभिन्न प्रकृतिका विपद् सिमुलेशन अभ्यास सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
बैठकले निर्वाचनका समयमा देखिन सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्न संयुक्त तथा समानान्तर सीमा गस्ती सशक्त बनाउने, सुरक्षा व्यवस्थालाई थप चुस्त–दुरुस्त पार्ने र तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश नियन्त्रणमा जोड दिएको छ। यसैगरी लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगद तस्करी नियन्त्रणका लागि निरन्तर र घनिष्ठ सहकार्य गर्न दुवै पक्षले आ–आफ्ना मातहतका युनिटलाई आवश्यक निर्देशन दिने विषयमा पनि सहमति भएको छ।
भारतीय पक्षबाट सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर अल्मोरा र सेक्टर हेडक्वाटर पिलिभितका डीआईजीद्वय सुधान्सु नौटियाल र अनिल कुमार शर्मासहित सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका क्षेत्रका भारतीय समकक्षी अधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाली प्रतिनिधिमण्डलमा सशस्त्र प्रहरी बल, नेपाल कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल, दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक गुणराज न्यौपाने तथा बैतडी र डडेल्धुराका गुल्मपतिहरू सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय जङ्गबहादुर कुँवर र प्रकाशचन्द्र भट्ट सहभागी थिए।
नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टका अनुसार सशस्त्र सीमा बल, भारत र सशस्त्र प्रहरी बल, नेपालबीच केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरमा यस्ता समन्वयात्मक बैठकहरू नियमित रूपमा हुँदै आएका छन्, जसले सीमा सुरक्षा र आपसी सहकार्यलाई थप मजबुत बनाउँदै आएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमा कडाइ, चम्पावतमा सशस्त्र प्रहरी बल र सशस्त्र सीमा बलबीच डीआईजीस्तरीय समन्वय बैठक
निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमा कडाइ, चम्पावतमा सशस्त्र प्रहरी बल र सशस्त्र सीमा बलबीच डीआईजीस्तरीय समन्वय बैठक

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





