धनगढी, १५ फागुन/कैलालीको गौरिगंगा नगरपालिका–७, मट्कौना स्थित सिंहासन आधारभूत विद्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता उल्लङ्घन भएको आशङ्का गरिएको छ। कक्षा–७ मा अध्ययनरत विद्यार्थी कृष्ण पनाडीले कक्षाकोठा भित्रबाट ‘जय घण्टी’ नारा लगाउँदै राजनीतिक दलको झण्डा देखाएको तस्बिर बाहिरिएपछि घटनाले चर्चा पाएको हो।
घटनाको समयमा विद्यालयका प्रधानाध्यापक झलक बम कसैको व्रतबन्धको निम्तो मान्न बाहिर गएको र विद्यालयको समग्र जिम्मेवारी सहायक प्रधानाध्यापक काँग्रेस चौधरीले सम्हालेका थिए। चौधरीका अनुसार उक्त गतिविधि विद्यालय प्रशासनको जानकारीबिना भएको हो।
एक जना शिक्षकले भने यसलाई सामान्य विषय भन्दै झण्डा विद्यालय समयपछि फिर्ता गरिने बताएका छन्। तर, शैक्षिक संस्थाभित्र विद्यार्थी प्रयोग गरी राजनीतिक नारा र झण्डा प्रदर्शन हुनु निर्वाचन आचारसंहिताविपरीत हुन सक्ने भन्दै स्थानीयस्तरमा गम्भीर प्रश्न उठेको छ।
निर्वाचन आचारसंहिताअनुसार विद्यालयजस्ता शैक्षिक संस्था पूर्ण रूपमा गैर–राजनीतिक क्षेत्र मानिन्छन्। बालबालिकालाई कुनै दल, चुनावी चिन्ह वा नारासँग जोडेर गतिविधि गरिनु निषेध छ। यस घटनाले आचारसंहिता पालना र विद्यालय प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ।
स्थानीय अभिभावक र सरोकारवालाहरूले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा भविष्यमा यस्ता गतिविधि नदोहोरिने सुनिश्चितता गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
विद्यालयभित्र ‘जय घण्टी’ नारा र झण्डा प्रदर्शन, प्रतिनिधि सभा निर्वाचन आचारसंहिता उल्लङ्घनको आशङ्का
विद्यालयभित्र ‘जय घण्टी’ नारा र झण्डा प्रदर्शन, प्रतिनिधि सभा निर्वाचन आचारसंहिता उल्लङ्घनको आशङ्का

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




