धनगढी । धनगढीमा पुराना सवारी साधन कवाडमा बिक्री गर्दा अनिवार्य रूपमा गर्नुपर्ने “लागत कट्टा” प्रक्रिया बेवास्ता गर्दै सिधै गाडी कटिङ्ग गर्ने कार्य भइरहेको पाइएको छ। यातायात कार्यालयमा अभिलेख अद्यावधिक नगरी सवारी साधन टुक्र्याउने प्रवृत्तिले कानुनी शासन, राजस्व संकलन र सार्वजनिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
सवारी साधन खरिद–बिक्री तथा कवाडमा बिक्री गर्दा यातायात कार्यालयमा लागत कट्टा अनिर्वाय गर्नुपर्ने हो ।
यो गर्दा सवारी साधन सरकारी अभिलेखबाट हटेको र भविष्यमा नम्बर प्लेट, वा कागजातको दुरुपयोग हुन नदिन मद्दत पुर्याउँछ। तर धनगढीमा भने लागत कट्टा नगरी नै गाडी काट्ने काम भइरहेको पाईएको छ ।

लागत कट्टा गर्दा शुल्क महँगो पर्ने र प्रक्रिया झन्झटिलो हुने भन्दै कतिपय व्यवसायीहरूले यो प्रक्रिया नअपनाउने गरेको आरोप छ।
राम जानकी सप्लायर्समा लागत कट्टा बिना कटिङ्ग
धनगढीस्थित राम जानकी सप्लायर्समा ना ४ ख १९११ नम्बरको मालवाहक गाडी लागत कट्टा नगरी नै कटिङ्ग गरिएको अवस्थामा फेला परेको छ। उक्त व्यवसायका सञ्चालक पवन गुप्ताले गाडी आफूले खरिद गरेको बताएका छन्। तर उनले सवारी साधन आफ्नो नाममा नामसारी नगरेको स्वीकारेका छन्।
उक्त सवारी साधनको किनेको–बेचेको भनिएका व्यक्ति विदेशमा रहेको बताइएको छ।
धनगढीमा लागत कट्टा बिना गाडी कटिङ्ग भइरहँदा सम्बन्धित यातायात कार्यालय र नियमन निकायको अनुगमन प्रभावकारी नभएको पाईएको छ ।
सवारी साधन व्यवस्थापन जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो लापरवाहीले कानुनी शासनमाथि नै चुनौती खडा गरेको छ।






