काठमाडौं। राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ। २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिए। रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो। बाँकी १७ पदका लागि आज निर्वाचन हुनलागेको हो। कोशी प्रदेशका खस आर्यतर्फ उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका-४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका-४ मकवानपुरमा मतदान सुरु भएको छ।






