जापानको राजधानी टोकियोमा अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ। टोकियो महानगरीय मेडिकल एग्जामिनर कार्यालयका अनुसार जुलाई २६ सम्म टोकियोका २३ वटै वार्डमा मात्रै हीटस्ट्रोक (अत्यधिक गर्मी) का कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ।
पछिल्ला तीन दिनमै थप ३१ जनाको मृत्यु पुष्टि भएपछि गर्मीको जोखिम झन् गम्भीर बन्दै गएको छ। विवरणअनुसार जुलाई २७ मा २० जनाको, जुलाई २५ मा ९ जनाको र जुलाई २६ मा थप २ जनाको ज्यान गएको पुष्टि गरिएको छ।

लगातारको गर्मीको लहरका कारण विशेषगरी वृद्धवृद्धा तथा दीर्घरोगीहरू उच्च जोखिममा परिरहेका छन्। स्वास्थ्य अधिकारीहरूले अनावश्यक रूपमा एसी बन्द नगर्न, प्रशस्त पानी पिउन, शरीरमा पानीको कमी हुन नदिन तथा सकेसम्म चर्को घाममा लामो समय नबस्न सबैलाई आग्रह गरेका छन्।
जापानमा यस वर्षको गर्मी असाधारण रूपमा बढ्दै गएको छ। अत्यधिक तापक्रमका कारण दैनिक रूपमा धेरै मानिस बिरामी पर्ने र अस्पताल पुग्ने क्रमसमेत बढिरहेको अधिकारीहरूले बताएका छन्। त्यसैले स्वास्थ्य विज्ञहरूले गर्मीलाई सामान्य रूपमा नलिन र सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन्।






