सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार मोटरसाइकल ट्राफिक प्रहरीको चेकिङमा परेको छ। चेकिङका क्रममा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
शुक्रबार साँझ सोडारीसहित तीन जना सुपप्र ०१०१० प ७२७२ नम्बरको मोटरसाइकलमा सवार भएर घरतर्फ जाँदै गरेका थिए। सोही क्रममा धनगढीको शिवनगर क्षेत्रमा ट्राफिक प्रहरीले उक्त मोटरसाइकल रोकेको थियो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा मोटरसाइकल चालक जोशीपुर गाउँपालिका–३ का ५० वर्षीय शिवराज विनाडीले ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान खगेन्द्र तिमिल्सिनामाथि हातपात गरेका हुन्। चिट काट्ने क्रममा विनाडीले हेल्मेटले प्रहार गरेको आरोप प्रहरीले लगाएको छ।






