धनगढी–जिल्ला प्रहरी कार्यालय कैलालीले सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको आरोपमा मालपोत र यातायात कार्यालयबाट १२ लाई पक्राउ गरेको छ।
आज बिहीबार दिउँसो करिब ४:१५ बजे धनगढी उपमहानगरपालिका–५ स्थित यातायात कार्यालय धनगढी परिसरबाट ६ जना रमालपोत कार्यालय धनगढी परिसरबाट थप ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यातायात कार्यालय क्षेत्रबाट पक्राउ पर्नेमा पार्वती जोशी (२२वर्षीया), सिता राना (२५), दिनेश राना (२८), राम नारायण चौधरी (४२), जगत थापा (३८) र रामेश्वर चौधरी (३८) रहेका छन्।
यस्तै मालपोत कार्यालय क्षेत्रबाट लाइसेन्सबिना सेवाग्राहीलाई हैरानी दिने आरोपमा सुदान्शु चौधरी (२७), रविन्द्र कुमार देउवा (३५), उर्मिला राना (२५), शान्ती मल्ल (३५), युवराज खतिवडा (४२) र आशिष चौधरी (२६) पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूलाईजिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको छ।





