कैलाली धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. आनन्द चन्दले गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताएका छन्।
निर्वाचनमा विजयी भएपछि आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद चन्दले सुदूरपश्चिमको स्वास्थ्य तथा शैक्षिक विकासका लागि विश्वविद्यालय सञ्चालन अत्यन्त आवश्यक रहेको बताए। उनले सबैभन्दा पहिले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले विश्वविद्यालय सञ्चालनसँगै सेती प्रादेशिक अस्पताललाई पनि विश्वविद्यालयको मातहतमा ल्याएर विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिए। यसले सुदूरपश्चिमका नागरिकले उपचारका लागि अन्य प्रदेश वा भारतसम्म धाउनुपर्ने बाध्यता कम हुने विश्वास उनले व्यक्त गरे।
सांसद चन्दले स्वास्थ्यसँगै शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रलाई पनि विकासको प्रमुख आधारका रूपमा अघि बढाउने बताए। उनले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै स्वदेशी उत्पादन बढाउने, कृषकलाई प्रविधि र बजारसँग जोड्ने तथा कृषि प्रणालीलाई व्यवसायिक बनाउने दिशामा काम गर्ने उल्लेख गरे।
।






