धनगढी । नेपाल–भारत सीमा नाका गौरिफन्टामा पेस्तोलको गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र सीमा बल ९एसएसबी० ले नियमित जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
माघ २७ गते मंगलबार साँझ करिब ७:१५ बजे भारत–नेपाल सीमा क्षेत्रको गौरिफन्टा चेकपोस्टमा एसएसबीले एक्स–रे ब्यागेज मेसिनमार्फत यात्रुहरूको नियमित जाँच गरिरहेको थियो। सोही क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका एक व्यक्तिको झोला जाँच गर्दा १० राउन्ड प्रयोग नभएको पेस्तोलको गोली फेला परेको हो।

पक्राउ पर्नेमा भारतको हरियाणा राज्य, जिल्ला कैथल अन्तर्गत गल्ला पटी, किठाना निवासी ३९ वर्षीय नरेश कुमार रहेका छन्। सोधपुछका क्रममा उनले आफ्नो पिता महावीर सिंह भएको बताएका छन्।
बरामद गरिएको केएफ ७.६५ (३२ बोर) का १० राउन्ड कारतुस आफ्नो ३२ बोर पिस्टलका लागि भएको र सो पिस्टलको लाइसेन्स नम्बर समेत रहेको उनले दाबी गरेका छन्। तर, लाइसेन्स भए पनि नेपालबाट भारततर्फ कारतुस ल्याउन–लैजान कानुनी रूपमा निषेध रहेको भन्दै उनले हतियारसम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरिएको छ।
घटनापछि एसएसबीले पक्राउ परेका नरेश कुमार र बरामद १० राउन्ड कारतुस आवश्यक कानुनी कारबाहीका लागि गौरिफन्टा प्रहरी चौकीका प्रमुखलाई जिम्मा लगाएको जनाएको छ।






