नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखाएको बताउनुभयो ।

प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा अघि बढाउने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान जान नसकेको उहाँको भनाइ थियो । दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने उहाँले बताउनुभयो ।
सरकार आफैँले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा थापाले जोड दिनुभयो । उहाँले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले रोज्ने आर्थिक बाटोले मुलुकको भविष्य निर्धारण गर्ने बताउनुभयो ।
‘प्रधानमन्त्रीले कतातिर जाने भन्ने निर्णय गर्ने हो । कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो । अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । मेरो बुझाइमा उहाँ निजी क्षेत्रलाई मन पराउनुहुन्न । यो मैले अनुमानका आधारमा भनेको होइन,’ थापाले भन्नुभयो, ‘उहाँका पछिल्ला अभिव्यक्ति र निर्णयहरू त्यस्तै देखिन्छन् ।’
सरकारी उद्योग सञ्चालनको विषयमा आफूले विरोध नगरेको स्पष्ट पार्दै थापाले ती उद्योग सञ्चालनमा आएर मुनाफा कमाऊन् भन्ने आफ्नो शुभेच्छा रहेको बताउनुभयो । तर, सरकारी उद्योग सञ्चालन गर्ने विषयलाई राज्यको समग्र आर्थिक अवस्थासँग जोडेर हेर्नुपर्ने उहाँको भनाइ थियो ।
२०४६ सालपछि तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास गरेर अघि बढेकै कारण मुलुकको आर्थिक विकासको आधार निर्माण भएको थापाले दाबी गर्नुभयो । त्यसैले अहिलेको सरकारले पनि निजी क्षेत्रलाई विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै थापाले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।






