धनगढी, २५ भदौ/प्रहरी नियमावली, २०७१ ले व्यक्तिगत कारण देखाउँदै प्रहरी कर्मचारीलाई घर पायक पर्ने स्थानमा सरुवा माग्न सक्ने व्यवस्था गरेको छ । नियम ५१ (ख) अनुसार मनासिब कारण खुलाएर अनुसूची–१३ बमोजिम सरुवा/काज माग फाराम भरी सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा सोभन्दा माथिल्लो कार्यालयमा निवेदन दिन सकिन्छ । सम्बन्धित कार्यालयको रायसहित निवेदन सरुवा गर्ने अधिकारप्राप्त निकायमा पुग्ने र अन्तिम निर्णय भने सम्बन्धित निकायले गर्ने व्यवस्था छ ।
यही व्यवस्थालाई आधार बनाएर पछिल्लो समय प्रहरी कर्मचारीले घर पायक पर्ने स्थानमा सरुवा हुन इच्छा देखाउने क्रम बढेको छ । कैलालीमा पनि घर पायक वा आफूलाई सहज हुने स्थान रोजेर काम गर्ने प्रहरी कर्मचारीको संख्या उल्लेख्य रहेको बताइन्छ ।
कतिपयले नियमअनुसार व्यक्तिगत कारण देखाउँदै सरुवा माग्ने गरेका छन् भने कतिपयले पहुँच र भनसुनका आधारमा आफूलाई अनुकूल हुने स्थान रोज्ने गरेको प्रहरी स्रोतको दाबी छ । घर पायक स्थान सम्भव नभए बढी आम्दानी हुने भनिएका इलाका तथा प्रहरी चौकीमा जान खोज्ने प्रवृत्तिसमेत बढेको बताइन्छ ।
कैलालीका प्रहरी चौकी कैलाली गाउँ, गेटा प्रहरी चौकी, त्रिनगर प्रहरी चौकी, धनगढी चौराह प्रहरी चौकीलगायतका इलाका तथा प्रहरी चौकीमा घर पायक वा नजिकका क्षेत्रमा कार्यरत प्रहरीको संख्या बढी रहेको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार घर पायक वा आफूले लामो समयदेखि चिनजान भएका क्षेत्रमा कार्यरत प्रहरीमाथि निष्पक्षता कायम गर्न चुनौती देखिने गरेको छ । विशेषगरी राजपुर, गेटा र त्रिनगर प्रहरी चौकीअन्तर्गतका केही स्थानीयले अपराधमा संलग्न व्यक्तिलाई चिनजानका आधारमा पक्राउ गरे पनि पछि दबाब वा ‘सेटिङ’मा छाड्ने गरेको आरोप लगाएका छन् ।
‘स्थानीयसँग सम्बन्ध बिग्रन्छ’ भन्ने कारणले कतिपय घटनामा प्रहरीले कडा कारबाही गर्न नसकेको र ड्युटीको समयमा समेत पारिवारिक काममा व्यस्त हुने गरेको स्थानीयको गुनासो छ । यसले प्रहरीको नियमित कामकारबाही र सेवा प्रवाहमा असर परेको उनीहरूको भनाइ छ ।
यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पदम बिष्टले स्थानीय प्रहरीलाई सम्बन्धित क्षेत्रमा नराख्न निर्देशन दिइएको बताउनुभएको छ । जिल्लामा प्रहरी कर्मचारी खटाउने जिम्मेवारी जिल्ला प्रहरी कार्यालयकै भएकाले स्थानीय प्रहरीको विषयमा जिल्लासँग समन्वय गर्न उहाँले आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले भने जिल्लाका प्रहरी चौकीमा स्थानीय प्रहरी कार्यरत नरहेको जिकिर गर्नुभएको छ ।
‘त्यहीँका छैनन् । घर पायकवाला छैनन् । नजिकका होलान् । उनीहरूको पनि पीडा छ, घर परिवार हेर्नुपर्छ,’ प्रहरी उपरीक्षक चन्दले भन्नुभयो, ‘ड्युटी नै छोडेर घर परिवारलाई समय दिएको गुनासो आएको छैन । त्यस्तो हो भने म बुझ्छु ।’
घर पायक सरुवा प्रहरी कर्मचारीका पारिवारिक तथा व्यक्तिगत समस्यालाई सम्बोधन गर्ने उद्देश्यले गरिएको व्यवस्था भए पनि त्यसको दुरुपयोग भए प्रहरी सेवाको निष्पक्षता, जवाफदेहिता र प्रभावकारितामाथि प्रश्न उठ्न सक्ने देखिन्छ । त्यसैले घर पायक सरुवा र काजको अभ्यासलाई पारदर्शी तथा मापदण्डमा आधारित बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
चिनजानकै ठाउँमा ‘घर पायक’ प्रहरी, अपराध नियन्त्रणमा चुनौती?
चिनजानकै ठाउँमा ‘घर पायक’ प्रहरी, अपराध नियन्त्रणमा चुनौती?

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





