धनगढी, २४ फागुन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीका जिल्ला सभापति महेश चौधरी विरुद्ध चेक बाउन्स, ठगी र उद्योग हिनामिना गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। पीडित जय चदारोका अनुसार, धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँस्थित एक कठ्ठा जग्गासहित सञ्चालनमा रहेको हरी ओम जुत्ता चप्पल उद्योग ७५ लाख रुपैयाँमा किन्ने सहमति गर्दै चौधरीले सुरुमा १५ लाख रुपैयाँको चेक ‘बयाना’ स्वरूप दिएका थिए। चदारो, जो बेलडाँडी गाउँपालिका–२ निवासी हुन, चेक साट्न बैंक पुग्दा उक्त चेक बाउन्स भयो। त्यसपछि चौधरीले समय सार्दै एक चेकको सट्टा अर्को चेक दिँदै झुलाउने काम गरेको आरोप छ।
३ वर्ष उद्योग चलाएर लाखौंको क्षति
पीडितका अनुसार, चौधरीले करिब तीन वर्षभन्दा बढी समय उद्योग सञ्चालन गरे । उद्योगभित्रका सामग्री बिक्री गरे । लाखौं रुपैयाँ बिजुलीको बिल बक्यौता राखे । उद्योगको सम्पत्ति प्रयोग गरेर आर्थिक लाभ लिए । तर, न त १५ लाखको चेक साटियो, न त बाँकी रकम तिरियो। “फोन गर्दा उठाउँदैनथे। भेट हुँदा ‘दिन्छु, दिन्छु’ भनेर टारिरहे,” चदारोले भने, “हामीले प्रहरी लगायौं, दुनियादारी र्गयौं, पार्टी कार्यालय धायौं, केही सुनुवाइ भएन।” चदारोका अनुसार चौधरीकी श्रीमती कुमारी बैंकमा कार्यरत रहेको भन्दै त्यहाँसमेत पटक–पटक धाए पनि समस्या समाधान हुन सकेन।
ताला तोडेर उद्योग फिर्ता
अन्ततः वडा कार्यालयको सिफारिस र प्रहरीको रोहवरमा उद्योगमा लगाइएको ताला तोडेर चदारोले उद्योग आफ्नो नियन्त्रणमा लिएका छन्। “भित्रको सामान उसले बेचिसकेको रहेछ। बिजुलीको बिल धेरै आएको छ,” चदारोले भने, “मलाई तीन वर्षको क्षतिपूर्ति र बिजुलीको बिल बराबरको रकम चाहियो।” उनका अनुसार सुरुमा उनले उद्योग मात्र बेच्ने प्रस्ताव राखेका थिए। तर, चौधरीले जग्गासहित उद्योग नै किन्ने भन्दै १५ लाखको चेक दिएका थिए, जुन अहिले बाउन्स मुद्दामा दर्ता गरिएको छ।
कानुनी प्रक्रियातर्फ
पीडितले चेक बाउन्ससम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको बताएका छन्। तीन वर्षसम्म उद्योग प्रयोग गरेर अन्ततः सामान बेचेर फरार भएको आरोपबारे प्रहरी प्रशासनले थप अनुसन्धान सुरु गर्ने संकेत दिएको छ। राजनीतिक दलको जिल्ला अध्यक्षमाथि यस्ता गम्भीर आरोप लाग्नुले स्थानीय तहमा तरंग सिर्जना गरेको छ। यस विषयमा आरोपित महेश चौधरीको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
रास्वपा कैलाली सभापतिमाथि १५ लाखको चेक बाउन्स आरोप, ३ वर्ष उद्योग चलाएर सामान बेचेर फरार
रास्वपा कैलाली सभापतिमाथि १५ लाखको चेक बाउन्स आरोप, ३ वर्ष उद्योग चलाएर सामान बेचेर फरार

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





